• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मिदिम (करापु) हाइड्रोपावरले तिहार लगतै परिक्षण उत्पादन थाल्ने


 

प्रशारणलाइनको काम अन्तिम चरणमा  

निरज अधिकारी
७ असोज, करापु । लमजुङको मिदिम खोलामा निर्माण भएको मिदिमखोला (करापु) जलविद्युत आयोजनाले तिहार लगतै परिक्षण उत्पादन थाल्ने भएको छ । जडित क्षमता ३ मेगावाट रहेको यस आयोजनाको निर्माणकार्य लगभग सकिएको र हाल आयोजनाको सुरुङ, पेनस्टक पाइप र विद्युतगृहको परीक्षण भइरहेको आयोजनाका प्रमुख आवसीय इन्जिनियर दिप बहादुर सिंहले बताए । ‘पहिलो चरणमा सुरुङ, पेनस्टक पाइप र सेट्लिङ बेसिनमा पानी पठाएर परीक्षण गरिरहेका छौं, उनले भने, आयोजनाको पेनस्टक पाइप जडान भएको ठाउँमा र सुरुङमा चुहावट भए नभएको परीक्षण भइरहेको छ ।’ 
नाकाबन्दी र भूकम्पका कारण आयोजना निर्माणकार्य तोकिएको समयभन्दा ८ महिना ढिला गरी सम्पन्न भएको प्रवद्र्धक कम्पनी युनियन हाइड्रोपावरले जनाएको छ । आयोजनामा ११२१.२४ मिटर लामो भूमिगत सुरुङ, ३४३.५ मिटर पेनस्टक पाइप र १५५.६ मिटर लामो कल्भर्टको निर्माण गरिएको आयोजनाका सिभिल इन्जिनियर मुकुन्द झाले बताए । 
प्रवद्र्धक कम्पनी युनियनले आयोजनाको परीक्षण र प्रसारणलाइनको निर्माणकार्यलाई एकसाथ अघि बढाइरहेको आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए । उनले भने, ‘प्रसारणलाइनको काम हाल ९० प्रतिशत सकियो, इलेक्ट्रोमेकानिकल तर्फको केहि काम बाँकी छ, यो दुवै कार्य सम्पन्न भएसँगै परिक्षण उत्पादन थालिहाल्ने तयारीमा छौँ ।’
आयोजनाको विद्युतगृह रहेको स्थान मध्यनेपाल–८ (करापु) पत्तरीबाट भोर्लेटारसम्मको ९ किमि लामो प्रसारणलाइन निर्माणको काम प्रवद्र्धक कम्पनी आफंैले गरिरहेको छ । आयोजनाको विद्युतलाई भोर्लेटारबाट नेपाल विद्युत् प्राधिकरणको ३३ केभी लाइनमार्फत दमौली पठाउने तयारी भइरहेको छ । 
प्रवद्र्धक कम्पनी युनियन हाइड्रोपावरले ३ मेगावाट विद्युत् उत्पादन गर्ने गरी पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा यो आयोजना निर्माण गरेको हो । आयोजनाको सुरुको लागत ६० करोड रहे पनि इन्धन अभाव, भूकम्प र मजदुर अभावका कारण आयोजनाको लागत बढेर ७५ करोड पुगेको प्रमुख आवसीय इन्जिनियर दिप बहादुर सिंहले बताए । 
आयोजनाको प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच २०६७ माघमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । साविकको करापु र नाल्मा गाविसको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध बाँधिएको छ ।  
पानीको बहावमा आधारित स्वदेशी लगानीको यो आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी पीपीए सम्झौता भएको छ ।
क्याप्सन : आयोजनाको विद्युत गृह । तस्बिर : निरज अधिकारी

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल