• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

ग्रामीण पर्यटनमा छलाङ मार्दै घलेगाउँ


 
निरज अधिकारी
१२ मङ्सिर, घलेगाउँ । प्रदेश नं. ४ अन्तर्गत लमजुङको क्व्होलासोँथर गापा–३ मा पर्ने घलेगाउँ समुद्र सतहबाट २१ सय मिटर उचाईमा छ । काठमाडौंबाट १७५ किमी र सदरमुकाम बेसीशहरबाट २७ किमी दूरीमा अवस्थित सार्क राष्ट्र पर्यटकीय गाउँ घलेगाउँले लमजुङको पर्यटन प्रबद्र्धनको क्षेत्रमा अग्र स्थान कायम गरेको छ । 
१ सय १५ घरधुरी रहेको घलेगाउँमा एकघर बाहून, २४ घर दलित र बाँकी सबै गुरुङ छन् । वि.सं. २०५७ सालदेखि यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँको रुपमा स्थापना गरिएको हो । घलेगाउँबाट माछापुच्छे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
करिब ८० घरमा पाहुना राख्ने आवश्यक पूर्वाधारको विकास गरिएको छ । ३२ घरमा व्यवसायीक होमस्टे सञ्चालित छन् । दुईदेखि आठ जनासम्मलाई एउटै घरमा बास गराउने व्यवस्था मिलाइएको छ । एकरातमा करिब ३ सय पाहुनालाई घलेगाउँले खुवाउन र सुताउने क्षमता राख्छ । 
लमजुङको सदरमुकाम वेसीशहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे दुई घण्टामा घलेगाउँ पुगिन्छ । परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा लगायतको नाचले स्वागत गरिने सो गाउँ वरिपरि नमूना चियाबगान, भेडीगोठ, भ्यूटावर, उत्तरकन्या मन्दिर, पिकनिक पार्क त्यहाँ अवलोकन गर्ने आकर्षक स्थान हुन् । 
होमस्टेमा आकर्षण
न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् । 
घलेगाउँमा हाल दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता छ । समितिका अध्यक्ष घले भन्छन्, ‘होमस्टेमा आउने पर्यटकलाई खानाका लागि स्थानीय परिकारकै प्रयोग छ, वाईफाई जडान भएका छन, पर्यटकले प्रयोग गर्ने कोठाहरु सफा र आरमदायी छन्, सबै होमस्टेहरु मापदण्ड अनुसारकै छन् ।’ 
मनोरम बाताबरण, न्यानो आतिथ्यता सँगै आफनै घरमा बसेको जस्तो अनुभुती दिलाई स्थानीय परिकारमा रमाउने बाताबरण बनेकाले पनि घलेगाउँका होमस्टेमा पर्यटक थामिनसक्नु भएको घलेले जानकारी दिए । ‘परालका गुन्द्रीमाथि गाउँमै बुनेका राडी र गलैंचामा पलेटी मारेर पारिवारिक वातावरणमा खानपिन गर्दा साँच्चै रमाइलो अनुभूति हुन्छ,’ घलेगाउँ गोरखाका गणेश गुरुङले भने, ‘अंगेनाको वरिपरि लहरै पाहुनालाई बसाएर रोजेको परिकार पकाइदिने र बातमार्दै त्यसको स्वादले कस्को मन आनन्दित नहोला ।’ स्थानीय मस्र्याङ्दी नदीको माछा, भेडीगोठका भेडा, च्याङग्र्रा, खसी, लोकल कुखुराको मासु, भेडा र माछाको सुकुटी, कोदोको घरैमा उत्पादित रक्सीको स्वाद्ले पाहुनाको मन हलुङ्गो हुन्छ । 
बिदेशीको तुलनामा आन्तरिक पर्यटकको लर्को
घलेगाउँमा पछिल्लो समय विदेशी भन्दा आन्तरिक पर्यटकको लर्को लागेको छ । ‘जाडो समय भए पनि घलेगाउँ आउने पर्यटकको दर बढेको छ, दैनिक २ सय ५० देखी ३ सयको हाराहारीमा आन्तरिक पर्यटक घलेगाउँ आउँछन्,’घलेगाउँ पर्यटन विकास समितिका कार्यालय सचिव दीर्घ घलेले भने, ‘बाह्य पर्यटकको आगमन भने १५ प्रतिशत मात्र छ ।’
वेसिजनमा १५, २० जना आउने गरेपनि सिजनमा भने, दैनिक २ सय देखी ३ सय पर्यटक भित्रने गरेका छन् । 
असोज र कार्तिक महिनामा भने घलेगाउँमा पर्यटक थामिनसक्नु भएको सचिव घलेले जानकारी दिए । चालू आव २०७४÷०७५ अन्तर्गत साउन महिनादेखी असोज मसान्त सम्म ३ महिनामै १५ सय ५६ जना आन्तरिक पर्यटक घलेगाउँमा पुगेका छन् । बाह्य पर्यटकको तथ्याङ्क हेर्दा २ सय जना बाह्य पर्यटक घलेगाउँ भित्रिएका छन् ।
गत आव २०७३÷७४ मा १० हजार १ सय ७५ जना आन्तरिक पर्यटक घलेगाउँ पुगेका थिए । बाह्य पर्यटक भने ५ सय १४ जना पुगे । ‘कार्तिक महिनामा पाहुना थामिनसक्नु थियो, मंसिर लागेपछिपनि उस्तै छ,’ घलेले भने । 
पर्यटक लोभ्याउने चिया बगान
घलेगाउँ क्षेत्रमा लगाइएको चिया बगानले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । पछिल्लो समय बगान हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
‘पहिले यहाँको प्रकृति र संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारीको आकर्षण पनि थपिएको छ’, पर्यटन विकास समिति अध्यक्ष घलेले भने । 
एक्याप भुजुङको पहलमा २०५५ सालदेखि घलेगाउँमा शुरु गरिएको चियाखेती अहिले ७० रोपनी बढी क्षेत्रमा फैलिसकेको छ ।
पर्यटक तान्दै पर्यटन संग्राहालय
घलेगाउँमा निर्माण गरिएको पर्यटन संग्राहालयले पनि पर्यटकलाई आकर्षित तुल्याएको छ । घलेगाउँ पुग्ने अधिकांश पर्यटक संग्राहालयमा पुग्ने गरेको सङग्रालय संरक्षण समितिका संयोजक पूर्णबहादुर गुरूङले बताए । संग्राहालयमा विशेष गरी गुरूङ जातिको परम्परागत पोशाक, हतियार, बाजा, झ्यालीलगायतका ऐतिहासिक सामग्रीहरू राखिएको छ ।
एक्यापको २ लाख सहयोग र स्थानीयको जनश्रमदानबाट उक्त संग्राहालय निर्माण गरिएको हो । 
स्थानीय उत्पादनको व्यापार
घलेगाउँमा घरमै पालेका लोकलकुखुरा र भेडाको व्यापार अधिक छ । ताजा महको व्यापार अझ राम्रो छ । गाउँमै बसेर मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गर्ने घलेगाउँका बासिन्दा आर्थिकरुपले तङ्ग्रिदै गएका छन् । 
यो सँगै पर्यटकले उपभोग गर्ने बिभिन्न सामाग्रीहरु फरक फरक घरधुरीले तयार पार्ने गरेका छन् । जसको घरमा होमस्टे छैन्न उनिहरुले ३२ घरलाई चाहिने स्थानिय मदिरा, मासु, रंगीबिरङ्गी फूल, राडी, पाखी, बख्खु, गलैचा लगायतका वस्तुहरु उत्पादन गरी बिक्रि गर्ने गर्दछन् । जसबाटै सहज रुपमै आम्दानी गर्ने बाटो खुलेको छ ।
मनमोहक प्राकृतिक दृश्य 
निकै उचाईमा हिमश्रृङ्खलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । 
हरिया चियाबगान, भ्यूटावर, भेडीगोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ । माछापुच्छ«े, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यले मोहित त्यहाँ आगन्तुक पाहुनाहरु विहानभरी क्यामेरा, मोबाइल, आइफोनमा आफ्ना तस्विर कैद गरेरै विताउँछन् । 
गाउँ नजिकै डाडाँमा भ्यूटावर निर्माण गरिएको छ । त्यहाँबाट सूर्योदय र सुर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । 
तस्बिरहरु उपलब्ध छन् । 
शब्द/तस्बिर : निरज अधिकारी, घलेगाउँ लमजुङ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल