• Today :
    Wednesday, July 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

चुनाव सकेर मनाङवासी यार्सा संकलनतिर


निरज अधिकारी-

पहिलो चरणको स्थानीय निर्वाचनको माहोल सकिन नपाउँदै मनाङवासीको चासो यार्सागुम्बु (यार्सा) सङ्कलनमा बढ्न थालेको छ । मौसमी आयआर्जनको गतिलो स्रोत यार्सा टिप्न स्थानीय बासिन्दा यतिबेला लेकतिर जान थालेका छन् । यार्सा सङ्कलन वैशाख मसान्तबाटै हुने भए पनि स्थानीय निकायको चुनावले रोकिएको थियो । चुनावलगत्तै यार्सा टिप्न जिल्लाका नार, फु, पिसाङ, खाङ्सार, ङावललगायत उच्च क्षेत्रतिर स्थानीयवासी जाने क्रम शुरू भएको हो ।

पिसाङको लेकमा वैशाख अन्तिम साताबाट यार्सा सङ्कलन शुरू हुने गरेको पिसाङका होटल व्यवसायी पशुपति अधिकारीले बताए । बहुमूल्य जडीबुटी यार्सा टिप्न मनाङवासी मात्र नभई गोरखा, धादिङ, लमजुङ र नुवाकोट जिल्लाबाट समेत मानिसहरू आवश्यक सामग्री बोकेर मनाङका लेकतिर उक्लन थालेका छन् ।

गर्मी मौसमसँगै हिमाली क्षेत्रमा बाक्लो हिउँ पग्लिँदै जाने र जमीनबाट झुसिल कीराजस्तै यार्सा उम्रिने गरेको छ । करीब २ महीनासम्म मनाङमा यार्सा टिप्ने काम हुन्छ ।

नेपाल सरकारले यार्सा व्यवस्थापन निर्देशिका प्रकाशन गरेर विभिन्न मापदण्डसमेत तोकेको छ, जसमा १६ वर्षभन्दा मुनिका बालबालिका यार्सा सङ्कलनमा जान नपाउने व्यवस्था छ, तर अधिकांश स्कूले बालबालिकासमेत अभिभावकसँगै यार्सा सङ्कलनमा जाने गरेको पाइएको छ ।
मनाङका लेकमा पाइने यार्र्सा आलोमै प्रतिगोटा ५ सयदेखि १ हजारसम्ममा विक्री हुने भएकाले त्यसको सङ्कलनमा आकर्षण बढेको छ । बेसीशहर–चामे सडकमा सहज रूपमा सवारी चल्नाले बाहिरी जिल्लाका मानिससमेत मनाङ उक्लने क्रम बढ्दो छ ।

यार्सा सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय मनाङले वैशाख १५ देखि खुला गर्छ । मनाङको थोँचे र धारापानीबाहेक साविका सबै गाविसमा यार्सा पाइन्छ । यार्सा पाइने भ्राका, खाङ्सार, ङ्वाल, पिसाङलगायत स्थानमा यतिबेला सङ्कलनकर्ताको भीड छ । उनीहरूलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)द्वारा गठित गाउँस्तरको समितिले अनुमति पुर्जी दिने गर्छ ।

२०६६ सालमा नारस्थित नम्गेखर्कमा गोरखाका सातजनाको स्थानीयवासीले हत्या गरिदिएपछि मनाङको नार र फु गाविसमा यार्सा सङ्कलन रोकिएको थियो । त्यहाँ अहिले पनि यार्सा टिप्न स्थानीयबाहेक अन्यलाई प्रतिबन्ध नै छ । नार घटनापछि एक्याप मनाङले यार्सा सङ्कलनलाई व्यवस्थित बनाउन थालेको छ । अघिल्लो वर्षदेखि यार्सा खोज्न आउनेहरूलाई नागरिकताको फोटोकपी र तस्वीर माग्ने गरिएको एक्याप मनाङका प्रमुख लालबाबु तिरुवाले बताए । यसले उनीहरूको पहिचानमा सहज हुने उनको भनाइ छ । साविकका १३ गाविस रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै गाविसमा यार्सा पाइन्छ ।

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल