• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

भूकम्पप्रतिरोधी निर्माणमा थप ५० हजारलाई शीप अवसर


 
१० भाद्र, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हातमा कुनै शीप नभई बेरोजगार बसेका थप ५० हजार युवारयुवतीलाई तालीम दिने भएको छ । भूकम्पप्रभावित जिल्लाहरूमा पुनर्निर्माणको काम सुस्त हुुनुमा जनशक्ति अभाव कारक भएको विषय उठिरहेका बेला प्राधिकरणले भत्किएका घर निर्माण कार्यलाई लक्षित गर्दै चालू आर्थिक वर्ष २०७४र७५ मा ती जनशक्तिलाई तालीमको अवसर दिने भएको हो । प्राधिकरणले विभिन्न सरकारी निकायका साथै गैरसरकारी सङ्घरसंस्थाको सहकार्यमा भूकम्पबाट अतिप्रभावित र कमप्रभावित जिल्लामा मात्रै यो तालीम दिनेछ । गत आव २०७३र७४ मा ४३ हजार ९१ जनालाई प्राधिकरणले यस्तो तालीम दिएको थियो । निःशुल्क उपलब्ध गराउने सो तालीमको अवधि भने ७ दिने र ५० दिने रहेको प्राधिकरणले जानकारी दिएको छ ।
दुई तरीकाबाट तालीम उपलब्ध गराउने प्राधिकरणले पहिलो सातदिने तालीम डकर्मी अर्थात् शीप सिकिसकेका तर भूकम्पप्रतिरोधी निर्माणमा दक्षता नभएकालाई उपलब्ध गराउनेछ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने, ‘दोस्रो ५० दिने तालीम भने शीप नसिकी बेरोजगार अवस्थामा रहेका नयाँ जोसुकै युवा÷युवतीलाई लक्षित गरी दिइनेछ ।’ अहिलेसम्म भूकम्पप्रभावित १४ जिल्लाका केन्द्रित गरेर सोही जिल्ला तथा आसपासका युवारयुवतीलाई तालीम दिइएको थियो । ‘अब भने हामी भूकम्पबाट कमप्रभावित बाँकी १७ जिल्लामा तालीम कार्यक्रम लैजाने तयारीमा छौं, तालीमको माग अन्य प्रभावित जिल्लाबाट पनि आएको छ,’ उनले भने ।  
प्राधिकरणले यस्तो तालीम प्राधिकरण, शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सीएलपीआईयू), प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी), घरेलु विकास समितिलगायत सरकारी तथा गैरसरकारी सङ्घरसंस्थाको सहयोग र सहकार्यमा तालीम दिँदै आएको छ । समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
जनशक्ति अभावका कारण भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको भन्दै आएको प्राधिकरणले ती जनशक्तिलाई भूकम्पबाट भत्किएका घरहरू निर्माणमा परिचालन गर्नेछ । तर, प्राधिकरणबाट शीप सिकेका युवाले भूकम्पप्रभावित जिल्लामा गएर भत्किएका घरहरू पुनर्निर्माण गर्ने कार्यमा भने खटेको पाइएको छैन ।
प्राधिकरणले उपलब्ध गराएको शीप सिकेर युवाहरू विदेशिने गरेको र पहुँचका भरमा सम्बन्धित जिल्लामा आफन्त तथा नातेदारहरूलाई तालीम उपलब्ध गराएका कुराहरू पनि बाहिर आएका छन् । प्रवक्ता भुसालले भने, ‘कतिपय जिल्लाका युवा शीप सिकेर बाहिर गएको देखिएको छ, तर त्यसमा प्राधिकरणले अङ्कुश भने लगाएको छैन ।’
मुलुकमा रोजगारीको अवसर नभएको भन्दै विदेशिने युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने लक्ष्य रहे पनि शीप सिक्दै युवा विदेशिने गर्दा समस्या भने समाधान नहुने देखिएको छ । गत वर्ष ७ दिने अवधिको तालीम लिनेको सङ्ख्या ३२ हजार १ सय ७७ थियो भने ५० दिने तालीम लिनेको सङ्ख्या १० हजार ९ सय १४ रहेको थियो ।
भूकम्प गएको २ वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणको कामले गति लिन सकेको छैन । खासगरी भूकम्पबाट क्षति भएका निजी आवास, विद्यालयलगायत भौतिक संरचना निर्माणमा सरकार असफल प्रायः भएको छ । हालसम्म ९ लाख ९६ हजार १ सय ६२ को सर्वे गरिएकोमा लाभग्राहीको सूचीमा पर्नेको सङ्ख्या ७ लाख ६५ हजार ६ सय १८ मात्र रहेको छ ।
यस्तै, अनुदान सम्झौता गर्नेको सङ्ख्या ६ लाख ३५ हजार २ सय ७२ रहेको छ भने पहिलो, दोस्रो, तेस्रो किस्ता पाउनेको सङ्ख्या क्रमशः ६ लाख ३ हजार ६ सय ९०, ६२ हजार ५ सय ५२ र ३ हजार ७ सय ७६ रहेको छ । यस तथ्याङ्कलाई हेर्दा पनि पुनर्निर्माणको काम सुस्त देखिएको छ । प्राधिकरणको गत बिहीवारको तथ्याङ्कअनुसार हालसम्म १ लाख १९ हजार ६ सय ८७ घर निर्माणाधीन अवस्थामा रहेका छन् भने ४७ हजार १ सय ९९ घर निर्माण भइसकेका छन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल