Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

जलविद्युत, पर्यटन र कृषिमा प्राथमिकता : अर्याल

SITENAME

म राजनैतिक आस्थाका आधारमा मात्र नगरपालिका चलाउने पक्षमा छैन । नगरप्रमुखको पद सार्वजनिक हो, सार्वजनिक पदमा वस्ने मानिस साझा हुनुपर्दछ ।

–लमजुङको केन्द्रमा रहेको बेसीशहर नगरपालिका का मेयर गुमानसिंह अर्यालसँग रेडियो मस्र्याङदीका समाचार प्रमुख निरज अधिकारीले गरेको कुराकानी  !

१) तपाईं मेयर पदमा निर्वाचित हुनुभएको छ, नगरको समग्र विकासमा तपाईंका योजना के के छन् ?
सर्व प्रथम ताजा अभिमतवाट म नगर प्रमुखमा निर्वाचित भए पछि मेरो अध्यक्षतामा मिति २०७४।०३।१२ गते नगरपालिकाको पहिलो वोर्ड वैठक वस्यो । सो वैठकले २५ वटा महत्वपूर्ण नीतिगत निर्णयहरु गरेको छ । ती नीतिगत निर्णयका वारेमा बजारमा चर्को वहस चल्यो । हामीले कुरा वुझाउन नसकेको कारणले कतिले त हेलिप्याड निर्माण गर्ने योजनालाई महत्वकांंक्षी योजना भन्दै नकारात्मक टिका टिप्पणी समेत गरेको पाईयो । हामीले, निर्माण गरिने हेलिप्याड स्वास्थ्यका लागि ईमरजेन्सी सेवा दिनका लागि प्रयोग हुने हो भनी वुझाउँदै आएकोले धेरैले विषयवस्तुका वारेमा वुझी सक्नु भएको छ । त्यस्तै आव ०७४÷०७५ को नीति तथा कार्यक्रममा हेलिप्याडलाई वजेट विनियोजन गरी नगरपालिका भित्र ३ वटा हेलिप्याड वन्दै छन । तत्पश्चात मिति २०७४।०३।२९ गते चौथो नगर सभा सम्पन्न भएको छ । सो नगर सभावाट हामीले पर्यावरण,पर्याटन,कृषि,यातायात, शिक्षा ,स्वास्थ्य, भौतिक निर्माण देखी लिएर सरसफाई सम्मका क्षेत्रमा वजेट विनियोजन गरेका छौ । 
२) यी योजनामध्ये प्राथमिकताका योजनाहरु के के हुन् ?
पहिलो कुरा त सवै भन्दा पहिले हामी नगरको गुरु योजना वनाउँदै छौ सो गुरु योजनाका लागि GIZ सस्थाले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिएको छ । त्यस पछि भने वेसीशहर नगरपालिकाको भौतिक तथा मानविय विकासले स्पष्ट मार्ग समात्दछ । यस वर्षको योजनामा पनि हामीले पर्यटनलाई प्राथमिकता दिएका छौ । लमजुङ दरवार स्थित कालिकाको मन्दिर जोडने रेलिङ सहितको सिँडी निर्माणको काम केही भई सकेको छ  । यस वर्ष पनि पर्याप्त वजेट विनियोजन गरेका छौ । लामो दुरीका पाँचवाट सडकलाई अलि वढी रकम विनियोजन गरेका छौ र सवै वडामा वाह्रै महिना मोटर सहज रुपमा जाने वनायौ किनकी सडकमा वाढी पहिरोको कारणले अवरोध सृजना हुना साथ हामीले जिप्सी पठाई सडक खुलायौ । वालउद्यानको क्षेत्रमा पनि राम्रो लगानी गरेका छौ । कर्पुरेश्वर पार्क छिट्टै वन्दै छ । त्यसका निमित्त वजेटको व्यवस्था गरेका छौ । फ्रिज हुन लागेको यस वर्षको वजेट पनि खेर जान दिएनौ पार्कमा लगायौ । निर्माण भई सकेका सौचालयमा तलव सहित सौचालय रेखदेख गर्ने मानिसहरु राखी सौचालयलाई थप व्यवस्थित वनाउँदै छौ । शिक्षामा वढी जोड दिनुु पर्दछ भन्ने हाम्रो मान्यता छ । त्यसैले हामीले  विद्यालय तथा विद्युत उपभोक्ता सँस्था समेतमा अनुगमन शुरु गरेका छौ र ती संस्थाहरुमा आवश्यक निर्देशन समेत दिएका छौ । पर्यटन, यातायात, जलविद्युत, खानेपानी, सिँचाइ, कृषि, पशुपालन जडीवुटी, सरसफाई, तथा व्यवसायिक खेती हामीहरुको प्राथमिकता भित्र पर्दछन । 
३) यी योजना सम्पन्न गर्न नगरपालिकालाई कति बजेटको आवश्यकता पर्छ र त्यसका स्रोतहरु के के हुन् ?
हाम्रा सवै योजनाहरु सम्पन्न गर्न हामीलाई अरवौ रुपैयाको आवश्यकता पर्दछ । सो रकम जुटाउन हामी स्थानीय स्रोत साधन परिचालन गर्दछौ र शुरु पनि गरी सकेका छौ । व्यवसायिक तथा एकिकृत कर संकलनका निमित्त विस्तृत कर संकलन योजना वनाउँदै छौ । यसमा पनि. GIZ ले सहयोग गर्ने आश्वासन दिएको छ । अव संघ र प्रदेशको निर्वाचन हुँदै छ । संघ र प्रदेशले पनि नगरपालिकाको निमित्त वजेट विनियोजन गर्छ । हामी, NGO, INGO .संग मिलेर काम गछौ । विश्व वैँकका  एशिया हेर्ने प्रतिनिधिहरुसंग हाम्रो भेटघाट समेत भई सकेको छ । वहाँहरुले शिक्षा लगायतका क्षेत्रमा लगानी गर्ने चासो व्यक्त गर्नु भएको छ । अन्य मुलुकका नगरपालिकाहरुसंग मितेरी सम्वन्ध वढाउने प्रयत्न पनि गर्छो । काम गर्ने ईच्छा हुँदा वजेटको खाँचो हुँदैन भन्ने हामीलाई लागेको छ ।
४) अहिले स्थानीय तहले स्थानीय सरकारको रुपमा भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था छ, यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्न केके चुनौती देख्नुहुन्छ ?
सर्व प्रथम त स्थानिय तह संचलान सम्वन्धि ऐन कानून नै वनेको छैन । संविधानसंग वाझ्ने गरी वनाईएको स्थानिय तह संचालन तथा व्यवस्थापन सम्वन्धी आदेश २०७४ को आधारमा स्थानिय सरकारको भूमिका निर्वाह गर्नु पर्ने भएको छ, जसले गर्दा खुलेर काम गर्न सकिएको छैन । सो आदेशले स्थानिय स्रोत र साधन उपयोग गर्न अवरोध सृजना गरेको छ । दोस्रो कुरा कर्मचारी प्रशासनको भूमिका पनि सकारात्मक हुन केही समय लाग्ने भएको छ । तेस्रो कुरा आम जनताको पनि दृष्टिकोण अझै स्थानिय तह शक्तिशाली भई सकेको छ भन्ने छैन ।अधिकार विहिन भई सकेका निकाय पनि हिजकै हिँगको टालो फडकार्दे छन । प्रदेश र संघको कानून नवनेको कारणले स्थानिय तहले आफूलाई आवश्यक पर्ने कानुन वनाउन पाएको छैन । अझै स्थानिय तहलाई साझा वनाउन वह्य परिस्थितीले साथ दिई रहेको छैन । त्यसैले स्थानिय तहलाई प्रभावकारी वनाउन र जननिर्वाचित प्रतिनिधिहरु्को मनोवल वढाउन नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु ल्याउन जरुरी देखिन्छ ।
५) स्थानीय तहमा राजनीतिक दलहरुलाई विकासको मुद्दामा सहभागी बनाउन तपाईंको भूमिका के हुन्छ ?
हाम्रो मुलुकको शासन व्यवस्था संसदिय व्यवस्थामा आधारित छ । संसदिय व्यवस्थामा राजनैतिक दलहरु हुन्छन र राजनैतिक दलको भूमिका महत्वपूर्ण पनि हुन्छ । दल विना यो मुलुक चल्दै चल्दैन । दलको कुनै विकल्प छैन । दलवाट हुने  कुनै कमिकमजोरीका आधारमा दल नै चाहिदैन भन्नु न्यूनका निमित्त  मुटुनै चाहिँदेन भन्नु सरह हो । म राजनैतिक आस्थाका आधारमा मात्र नगरपालिका चलाउने पक्षमा छैन । नगरप्रमुखको पद सार्वजनिक हो, सार्वजनिक पदमा वस्ने मानिस साझा हुनुपर्दछ । यो कुरा मैले राम्रैसंग वुझेको छु । मैले मेरो पार्टी तथा अन्य पार्टीसंग समेत सन्तुलित भएर काम गर्नु पर्दछ भन्ने कुरा पनि वुझेको छु । म सवै पार्टीैको सहयोग र समर्थन जुटाई काम गर्ने पक्षमा छु, यसका निमित्त आस्थाका आधारमा पूर्वाग्रह र दुराग्रह राख्नु हुँदैन । । सवै दलको सहयोग लिई विकासका मुद्दामा सवै राजनैतिक दलहरुलाई म एक ठाउँमा ल्याउने प्रयत्न गर्ने छु । 
६) तपाईंको नगरलाई अन्य नगर भन्दा फरक नगरको रुपमा विकास गर्न नगरमा भएका सम्भावनाका क्षेत्रहरु के–के हुन् ?
वेसीशहर नगरपालिकाले पर्यटनको राम्रो संभावना वोकेको छ । खासुर पात्लेपानी पुमा पुरानोकोट नाल्मा गाउँभाचोक, नरुवाल पाखाथोक, गाउँशहर लगायतका स्थानहरु ग्रामिण पर्यटनका निमित्त संभावित देखिन्छन । केही गाउँमा यसको शुरुवात समेत भई सकेको छ, वाँकी  गाउँहरुमा यसको विकास गर्नु पर्ने हुन्छ । यस नगरपालिका भित्र मझौला तथा साना उद्योग धन्दाहरु पनि चल्न सक्ने देखिन्छ । अहिले पनि साना तथा घरेलु उद्योगहरु चली रहेका छन । दोर्दी, मिदिम भाचोक खोला, मस्र्याङदी नदीले प्रस्स्त जलविद्युतको संभावना वोकेको छ त्यसैले जलविधुतको पनि यो नगरपालिका संभाव्य ठाउँ हो । वाझाखेत नाल्मा पुरानोकोट गाउँशहर, वेसीशहर,चिती तथा चण्डिस्थानमा आयआर्ज गर्न सकिने अम्रिसो तथा अलैची लगायतका खेती गर्न सकिने देखिन्छ । व्यवसायिक खेतीको संभावना पनि छ किनकी ठूला ठूला फाँट यस क्षेत्रमा रहेका छन ।अवका दिनमा वेसीशहर नगरपालिकामा सौर्य वत्ति जडान हुँदैछन । हामीले सौर्य वत्तिका निमित्त वजेट विनियोजन गरेका छौ । वेसीशहर नगरपालिकालाई हामी शैक्षिक केन्द्रका रुपमा पनि विकास गछौ । व्यवशायिक रुपमा पनि लमजुङको केन्द्र वानाउँछौ । यसको चार्मिङ हामी घट्न दिँदैनौ ।
७) लामो समयदेखि स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दै आइरहेको अवस्थामा हाल जनप्रतिनिधि निर्वाचित  भएर आउँदा काम गर्न कर्मचारीसँग समन्वयको समस्या छ कि छैन ?
   कर्मचारीहरु अनुभवी छन, वरु सरकारले उनीहरुको उचित व्यवस्थापन गर्न सकेको छैन । उनीहरु आफैमा आतंकित पनि देखिन्छन । स्थानिय तह जनप्रतिनिधि विहिन भएको पनि १५ वर्ष पुरा भई सकेको छ । यस अवस्थामा वहाँहरुले जन प्रतिनिधिले गर्नु पर्ने सवै काम गर्नु भयो । अदेश तथा निर्देशन आफै दिनु भयो । अव त्यो अवस्था छैन । त्यसैले वहाँहरुले आफूलार्ई इनफेरेटिभ महसुस गर्नुृ भएको छ । वहाहरुको मनोवल उठाउनु पर्दछ । कर्मचारी र जनप्रतिनिधि दुवै मिलेर स्थानिय तहको सरकार हाक्ने हो जनपक्षिय काम गर्ने हो । हामी यसमा कमी हुन दिँदैनौ । कर्मचारी र जनप्रतिनिधि एउटा रथका दुई पाङ्ग्रा हुन । अन्तमा हामीहरु पारदर्शी ढंगवाट तनमनले नगरको विकास गर्न तैयार छौ, त्यसैले आम नगरवासी, कर्मचारी ,राजनैतिक दल, वुद्धिजीवी,उद्योग व्यवसायिहरु तथा सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सहयोग गर्न हार्दिक हामी अपिल पनि गर्दछु ।

प्रतिकृया दिनुहोस