Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

गुरूआमा गुरूबा

SITENAME

गुरुआमा

 

म मेरी गुरुआमालाई सँधै सम्झन्छु । आज ‘सेयर’ गर्छु । विसं २०३५ साल, शान्ति विद्या गृह, लैनचौर । मेरो सात कक्षाको फाइनल परीक्षा । सामाजिक शिक्षा विषय । 

 

पढाइमा साह्रै कमजोर त होइन तर पहिलो प्रश्नको उत्तर भने आएन । दोस्रो सकिहालौँ भनेको त्यसको नि आएन... । फेरि कोसिस गरेँ, सकिन ।  आत्तिन थालेँ । आत्तिँदा त झन् कुनै पनि प्रश्नको राम्रो उत्तर आएन । साथीहरु पाना भरी भरी लेख्दै थिए । मेरो भने नामबाहेक एक अक्षर कोरिएको छैन । ध्यान फेल हुने निश्चिततामा पो गयो । साथीहरु आठमा, म सातमै हुने भएँ । पीडा, डाहा, छटपट । के गर्ने के गर्ने !

आमा सम्झेर रुनै मन लाग्यो । किनभने म असल र ज्ञानी हुँ भनेर उनमा निकै गर्व थियो । सबै माया गर्ने आफन्त सम्झेँ । आफूलाई सम्हालेँ । साथीको सार्ने वा सोध्ने बानी छैन । खाली कागज बुझाएर हिंड्ने आँट आएन । त्यसरी बुझाउनु आत्मसमर्पण हो, सातमै रहने ।

 

मनमनै शुभचिन्तकसँग माफी मागेँ, मनमनै आमालाई आइन्दा राम्रो गर्ने वचन दिएँ । अझै एक घन्टा बाँकी छ, कपी कसरी भर्ने । सोचेँ गुरुआमासँग माफी माग्छु । भटाभट लेख्न थालेः यही दुई घन्टा लामो तनावपूर्ण पल । अनि पुछारमा थपेँ म कमजोर होइन तर यी प्रश्नको उत्तर अहिले आएन, माफी चाहन्छु । सामाजिक शिक्षाकी गुरुआमालाई पनि वचन दिएँ आइन्दा यसो हुँदैन । पेज भरिएछ । कपी बुझाएँ । अन्य सबै विषय भने राम्रै गरेँ । तैपनि, म सातकै लागि तयार भएँ । जाडोको बिदा सुरु भयो । हरेक वर्ष झैं गाउँ गएँ, नवलपरासी । हरेक वर्ष, परीक्षाको नतिजा चिठीमार्फत मामा घरका बाजेले पठाउँथे । यसपाली चिठी आएन । फेल भएको समाचारको लागि पनि व्यग्रता । मैले कसैलाई सुनाएको थिइन मेरो कर्तुत । आत्मविश्वास त सँधै रहन्छ । तर, पनि मेरो तयारी अनुत्तीर्णकै लागि थियो ।

 

दिदी आइन् काठमाडौंबाट । समाचार पक्कै ल्याइन् । सबैको पर्खाइ मेरै नतिजामा केन्द्रित थियो । म नजिकै परिन, लुकेँ । केही बेरमै आमाले डाकिन् र सुरूमा हजुरआमालाई ढोग्न भनिन्, अनि बालाई, अनि आफूलाई । हरेक वर्ष झैँं सबैलाई मिठाइ बाँडिन् । म अताल्लिएँ । डराएँ । दिदीलाई सोधेँ । फेरि सोधेँ । नजिस्कन पनि भनेँ । कसम ख्वाएँ पटक पटक । दिदी छक्क परिन् । अनि म रोएँ । धरतीमा घोप्टो परेँ । गुरुआमाको मुहारबाहेक केही देखिएन । 
धन्यवाद, गुरुआमा, मलाई बुझ्यौ, विश्वास गर्‍यौ । म तिमीलाई बदलामा सफल भएर देखाउँछु भने । धन्यवाद, शान्ति मिस – मलाई किताबभन्दा बाहिर राखेर पनि हेरिदिनु भयो ! 

 

गुरुबा

 

दस वर्षअघि बैशाख महिना स्थान : नागरिक दैनिकको कार्यालय ।

 

साथीहरु छलफलमा व्यस्त थिए – नागरिक दैनिकको वार्षिकीमा ‘नागरिक हिरो’हरुको छनोट परिचय आदि । ‘‘को को चुनिए त नागरिक हिरो?’’ मैले सोधेँ । सुरुमै एउटा कहिल्यै नामै नसुनेका डाक्टरको नाम आयो ।
‘‘के रहेछ र समाजमा यिनको योगदान ?”

 

‘‘टिचिङका हड्डीका डाक्टर । यिनी आफ्नै तलबको पैसाले औषधि किनेर नेपालको विकट विकट जिल्लामा जाँदा रहेछन् । अनि गरिबको उपचार गर्ने यिनको नियमित काम रहेछ । कसैलाई नभनीकन जाँदा रहेछन् फुर्सद निकालेर । अनि संसारको कुनैपनि कुनामा महामारी या प्रकोप परे सकेसम्म जाँदा रहेछन् उपचार सहयोगको लागि । त्यो पनि आफ्नै खर्चमा ।”

 

सुन्दा अचम्म लाग्यो। वार्षिकीको दिन सोल्टी होटेलमा सबै भीभीआईपीलगायत आमन्त्रित तल बस्यौँं माथि मञ्चमा बसेका ‘नागरिक हिरो’ हरूलाई सुन्न । पाँच छ जना हिरोहरुमध्ये थिए यी डाक्टर पनि । मेरो ध्यान विषेश उनैमा थियो । ती कुनै पनि हिरोहरु भाषणमा निपुण थिएनन् । त्यसैले सम्पादकहरुले ‘मोडरेट’ गर्दै थिए । यी डाक्टर त झनै ठाडो । सुरुमै भने – ‘‘खै तपाईंहरुले यहाँ किन यसरी गर्नु भा’हो मलाई यहाँ बोलाएर । मलाई खासमा यस्तो हिरो बनाएको, मिडियामा आउन मन पर्दैन। मेरा आफ्नै प्राथमिकता छन् ।” उनले नचाहेको नसोचेको तालीको गडगडाहट आयो । ती यिनै डाक्टर थिए अहिलेका सत्याग्रही गोविन्द केसी ।

 

विसं २०७१ साल चैत्र : डा.केसी भर्खरको अनशनपछि अस्पतालमा उपचाररत थिए। हामी उनलाई भेट्न गयौँ । अस्ति अस्तिभन्दा निकै तंग्रेका रहेछन् । उनलाई टिचिङकै एनेक्सको भीभीआईपी क्याबिनमा राखिएको रहेछ । जहाँ सोफा सेट, टिभीलगायत अलि ठूलो कोठा थियो । हामी गफ गर्दै थियौँ, एउटी सिनियर देखिने सिस्टर छिरिन् र भनिन् ‘‘डाक्टरसाप !  आज पनि यही क्याबिनमै बस्न पर्ने भयो ।” हाँसी रहेका डाक्टरको अनुहार एक्कासि निन्याउरो भो । सानो स्वरमा भने ‘‘तपाईंहरूको मलाई नसार्ने नै सहमति भएको छ कि क्या हो ? ”

 

सिस्टरले सम्झाउन खोजिन् – ‘‘ त्यसो होइन डाक्टरसाप । आज तपाईँलाई सार्ने नै भन्या‘ हो, तर उताको कुनै ठाउँ खाली नै भएन । आज एउटा खाली हुने भनेको पनि एउटाले आफ्नी बिरामी आमालाई राख्न रोइकराई गरे । बुक गरेर सामान पनि सारिसकेको रहेछ । हजुरलाई कसरी के भन्ने भनेर कसैले आँट गरेनन्, अनि मैले नै जे भएको हो त्यही गएर भन्छु भनेर भन्न आएको ।”

 

‘‘अब पेसेन्टले नै त्यस्तो (रोइकराइ) गरेपछि मैले के भनूँ । भोलि चैं जसरी हुन्छ मलाई त्यतै मिलाउनु होला ”, डाक्टरले भने ।

 

’हस् डाक्टरसाप, थ्याङ्क् यु’ भन्दै सिस्टर बाहिरिइन् । मलाई खुल्दुली भएर जिज्ञासा राखेँ, ‘‘उता भनेको कता हो, डाक्टरसाप ? ह्याँ के भो र, के फरक छ ?”

 

उनले भने – ‘‘यो भीभीआईपी क्याबिन हो । म भीभीआईपी होइन । मलाई उकुसमुकुस हुन्छ यहाँ । हुन त यहीँको डाक्टर हुनाले डिस्काउन्ट हुन्छ, तर पनि यहाँ बस्ने मेरो औकात छैन । मलाई उतै (साधारण) क्याबिनमा ठीक लाग्छ । अस्तिदेखि भनेको, सार्दिँदैनन् !”
 ‘‘सादा जीवन उच्च विचार !”

प्रतिकृया दिनुहोस
SITENAME

विज्ञानले कसरी काम गर्छ ?

अनुज घिमिरे- विज्ञान मानव विकासको अभिन्न भाग हो । ढुंगे युगदेखि एक्काइसौं शताब्दीसम्म आइपुग्दा विज्ञानले गरेको मानवको कल्याण र खती निकै बढेको छ ।

SITENAME

‘कर्णाली ब्लुज – २’ बन्यो गोविन्द केसीको कथा

सुदीप उप्रेती- बुद्धिसागरको ‘कर्णाली ब्लुज’ उपन्यास नेपाली पाठकमाझ निकै लोकप्रिय छ । तर, कर्णाली भेगलगायत समग्र मुलुकसँगै जोडिएको ‘ब्लुज’

SITENAME

राजनीतिमा महिला : सहभागिता बढ्यो तर नेतृत्वमा न्यून

अन्तर्राष्ट्रिय महिला दिवस –रामकला खड्का नेपालमा पटकपटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने